तेहरान । अमेरिका र इरानबीच पछिल्लो समय बढ्दै गएको सैन्य द्वन्द्व थप चर्किएको छ । पछिल्लो २४ घण्टामा भएका आक्रमण, त्यसपछि जारी गरिएका चेतावनी तथा सैन्य गतिविधिले मध्यपूर्वमा अस्थिरता बढाउनुका साथै विश्व राजनीति र अर्थतन्त्रमा समेत प्रभाव पार्न थालेको छ ।
इरानको खातम अल–अन्बिया सेन्ट्रल हेडक्वाटरका प्रवक्ता कर्नेल इब्राहिम जोल्फघारीले इरानी सेनाले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेको पुष्टि गरेका छन् ।
इरानले दक्षिणी इरानमा भएका अमेरिकी आक्रमणको जवाफस्वरूप अमेरिकी सैन्य संरचनालाई लक्षित गरी कारबाही गरिएको जनाएको छ । जोल्फघारीका अनुसार इरानी आक्रमणबाट अमेरिकी सैन्य पूर्वाधार तथा हतियारमा ठूलो क्षति पुगेको दाबी गरिएको छ। उनले अमेरिकी पक्षमा उल्लेख्य संख्यामा कमाण्डर तथा सैनिक हताहत भएको दाबीसमेत गरेका छन्। यद्यपि, यी दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
उनले अमेरिकाले आफ्ना गतिविधिप्रति पश्चात्ताप नगरेसम्म इरानको आक्रमण जारी रहने चेतावनी दिएका छन् । साथै, अमेरिकालाई सहयोग गर्ने कुनै पनि मुलुकले त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत इरानले दिएको छ।
तेलको मूल्यमा वृद्धि
अमेरिका र इरानबीच प्रत्यक्ष सैन्य भिडन्त बढेपछि विश्वव्यापी ऊर्जा आपूर्तिमा असर पर्न सक्ने चिन्ता बढेको छ। यही आशंकाका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा समेत वृद्धि भएको छ।
पछिल्लो कारोबारमा ब्रेन्ट क्रुडको मूल्य ८७ सेन्ट अर्थात् ०.९२ प्रतिशतले बढेर प्रतिब्यारेल ९५.५२ अमेरिकी डलर पुगेको छ । त्यस्तै, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्ल्यूटीआई) को मूल्य ८० सेन्ट अर्थात् ०.८९ प्रतिशतले बढेर प्रतिब्यारेल ९१.०२ डलर पुगेको छ ।
मध्यपूर्व विश्वको प्रमुख तेल उत्पादन तथा आपूर्ति क्षेत्र भएकाले यहाँको सैन्य तनाव लामो समयसम्म कायम रहेमा विश्व बजारमा तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता छ। विज्ञहरूले तनाव थप बढेमा आगामी दिनमा कच्चा तेलको मूल्य अझै उकालो लाग्न सक्ने बताउनु भएकाे छ ।
बहराइनमा दोस्रोपटक सुरक्षा सतर्कता
बढ्दो क्षेत्रीय तनावलाई मध्यनजर गर्दै बहराइनले समेत सुरक्षा सतर्कता बढाएको छ। बहराइनको गृह मन्त्रालयले दोस्रोपटक सुरक्षा चेतावनी जारी गर्दै नागरिक तथा त्यहाँ रहेका बासिन्दालाई सम्भावित जोखिमबाट जोगिन आग्रह गरेको छ।
मन्त्रालयले नागरिकलाई शान्त रहन तथा आवश्यक परेको अवस्थामा नजिकैको सुरक्षित स्थानमा जान आग्रह गरेको छ। सामाजिक सञ्जाल ‘एक्स’मार्फत सूचना जारी गर्दै मन्त्रालयले सार्वजनिक सुरक्षासम्बन्धी जानकारीका लागि आधिकारिक माध्यमबाट आउने सूचनामात्र पछ्याउन अनुरोध गरेको छ।
अमेरिका र इरानबीचको बढ्दो सैन्य टकरावले मध्यपूर्वमा क्षेत्रीय युद्धको जोखिम बढाएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढेको छ। तनाव थप विस्तार भएमा यसको प्रभाव मध्यपूर्वमा मात्र सीमित नरही ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार, वित्तीय बजार तथा विश्व अर्थतन्त्रमा समेत पर्न सक्ने आकलन गरिएको छ।
यसैबीच, अमेरिका–इरान तनाव तत्काल नियन्त्रणमा लिन कूटनीतिक पहल गर्नुपर्ने दबाब पनि बढ्दै गएको छ।




















