काठमाडौं । राष्ट्रियसभाले भोटेकोसी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
मंगलबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
विशेष प्रस्तावमार्फत बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
प्रस्तावमा बाढी प्रभावितको प्रभावकारी उद्धार, राहत तथा पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने, सम्पर्कविहीन व्यक्तिको खोजीलाई तीव्रता दिनुपर्ने तथा घाइतेको निःशुल्क उपचार गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै, बाढीमा ज्यान गुमाएकाहरूको वैज्ञानिक ढंगले शव व्यवस्थापन गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।
भौतिक संरचनाको पुनर्निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारबीच प्रभावकारी समन्वय हुनुपर्ने प्रस्तावमा उल्लेख छ। साथै स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै राष्ट्रिय एकताका साथ विपद् व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ।
अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रस्तावमा भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि प्रभावकारी र दीर्घकालीन उपाय अवलम्बन गर्न सरकारको विशेष ध्यान जानुपर्ने उल्लेख गरिएको छ।




















