सुर्खेत । कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारले उपलब्ध गराउने उक्त रकम बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका काममा खर्च गरिने जनाएको छ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयले तयार पारेको ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ पनि स्वीकृत गरेको छ।
कर्णाली प्रदेश सरकारले आगामी १० वर्षसम्म प्रदेशको शिक्षा क्षेत्रको विकास, सुधार तथा गुणस्तर अभिवृद्धिलाई लक्षित गर्दै उक्त योजना तयार पारेको जनाएको छ।




















