काठमाडौं । नेकपा (एमाले) ले रसुवा बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका तर्फबाट उक्त रकम विपद् प्रभावितका लागि परिचालन गरिने जानकारी दिएका हुन्।
कार्यक्रममा एमालेको बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीले १०–१० लाख रुपैयाँका दरले जम्मा २० लाख रुपैयाँको चेक अध्यक्ष ओलीलाई हस्तान्तरण गरेका थिए।
सहयोग रकम ग्रहण गर्दै अध्यक्ष ओलीले विपद् व्यवस्थापनका लागि पार्टीले केन्द्रीय तहबाट विशेष कोष परिचालन गर्ने र त्यसमा कम्तीमा १ करोड २० लाख रुपैयाँ संकलन गरिने बताए।
राहत वितरणका क्रममा सरकारी कोषमा रकम जम्मा गरेर प्रक्रियागत ढिलाइ गर्नुको सट्टा वास्तविक पीडितसम्म तत्काल सहयोग पुग्ने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।
‘सरकारको कोषमा रकम जम्मा गर्दा कहिलेकाहीँ त्यो खातामै थन्किने र पीडितले तत्काल आवश्यक पर्ने पिउने पानीसमेत नपाउने अवस्था आउन सक्छ,’ ओलीले भने, ‘हाम्रो प्राथमिकता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई मात्र बलियो बनाउने होइन, पीडितका हातमा छिटोभन्दा छिटो राहत पुर्याउनु हो।’
अध्यक्ष ओलीले राहत तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन वास्तविक पीडितसम्म कुन माध्यमबाट छिटो पुग्न सकिन्छ, पार्टीले त्यही माध्यम अपनाउने स्पष्ट पारे।
विपद्को कठिन घडीमा सबै राजनीतिक दल, संघसंस्था तथा सरोकारवाला निकायलाई जिम्मेवार ढंगले राहत र उद्धार कार्यमा जुट्न पनि उनले आग्रह गरेका छन्।




















