काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गर्दै भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
रक्षामन्त्री सिंहले भारत सरकार तथा भारतीय जनताको तर्फबाट भदौ १० गते आएको भीषण बाढीबाट नेपालमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली जनता र सरकारप्रति समवेदना प्रकट गरेका हुन्।
सामाजिक सञ्जाल एक्समार्फत उनले उक्त प्राकृतिक विपत्तिले नेपाली नागरिकसँगै भारतीय तथा अन्य विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गरेका छन्।
‘यस दुःखद प्राकृतिक विपत्तिले नेपाली नागरिकका साथै भारतीय नागरिकसहित धेरै विदेशी नागरिकलाई प्रभावित पारेको छ। यस विपत्तिमा ज्यान गुमाउनेका परिवारप्रति हाम्रो गहिरो संवेदना र प्रार्थना छ। हामी घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,’ सिंहले लेखेका छन्।
उनले भारत नेपालका लागि घनिष्ठ मित्र र साझेदार मात्र नभई ‘सुखदुःखको साथी’समेत रहेको उल्लेख गर्दै कठिन परिस्थितिमा भारत सधैँ नेपालको साथमा उभिने बताएका छन्।
यस विपद्को घडीमा भारत नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग काँधमा काँध मिलाएर उभिएको र खोज, उद्धार तथा पुनर्स्थापनाका लागि नेपालले गरिरहेको प्रयासमा आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको सिंहले बताएका छन्।




















