काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उत्पन्न संकटका विषयमा देशका प्रमुख सुरक्षा निकायका प्रमुखहरूसँग छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी हालसम्म भएका खोज, उद्धार, राहत तथा विपद् व्यवस्थापनका गतिविधिबारे जानकारी लिएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानसेनापतिले बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेको खोज तथा उद्धार कार्य, राहत वितरण र व्यवस्थापनका प्रयासबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका हुन्।
प्रधानमन्त्री शाहले अब सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेल र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै छलफल तथा ब्रिफिङ लिने कार्यक्रम रहेको बताइएको छ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने र सुरक्षा निकायबीचको समन्वय सुदृढ गर्ने विषयमा प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरूसँग छलफल गर्न लागेका हुन्।




















