काठमाडौं । नेपालमा आएको विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै भारतको सिक्किम सरकारले राहत तथा स्वास्थ्य सहायता सामग्री नेपाल पठाएको छ।
‘सिक्किम फर नेपाल’ अभियानअन्तर्गत राहत र स्वास्थ्य सामग्री बोकेको गाडीलाई सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले सोमबार विदाइ गरेका हुन्। उक्त राहत सामग्री सिक्किम क्रान्तिकारी मोर्चाको टोलीमार्फत नेपाल पठाइएको जनाइएको छ।
मुख्यमन्त्री गोलेले विपद्को कठिन समयमा सिक्किमले मानवीय संवेदना, करुणा र भ्रातृत्वको भावना प्रस्तुत गर्दै नेपाली जनताको सहयोगका लागि हात अगाडि बढाएको बताएका छन्।
उनले कठिन घडीमा एकजुट भएर आवश्यक परेकाको सहयोग गर्नु मानवीय कर्तव्य भएको उल्लेख गरेका छन्।
गोलेले नेपालमा विपद्का कारण ज्यान गुमाउने व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित तथा पीडित नागरिकप्रति सहानुभूति प्रकट गरेका छन्।
पुनर्स्थापना र पुनर्निर्माणको यात्रामा रहेका नेपाली जनतासँग सिक्किमको पूर्ण ऐक्यबद्धता रहेको पनि उनले बताएका छन्।




















