काठमाडौं । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनसँगै नेपालले एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो पहिलो खेलमा बहराइनलाई ८७ रनमै अलआउट गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटिएको हो।
नेपालका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै १० ओभरमा मात्र १४ रन खर्चेर ५ विकेट लिए। ललित राजवंशीले ३ विकेट हात पार्दा करण केसीले २ विकेट लिए।
बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए। मुहम्मद वासिमले १३ रन जोड्दा अली दाउदले १० रनको योगदान दिए।
१४औँ ओभरमा बलिङका लागि आएका सन्दीपले आफ्नो पहिलो ओभरकै पहिलो बलमा विकेट लिए। त्यसको चौथो बलमा अर्को विकेट थप्दै उनले बहराइनको ब्याटिङ लाइनअपलाई दबाबमा राखेका थिए।
त्यसपछि उनले आफ्नो पाँचौँ ओभरमा एक विकेट लिए भने सातौँ र आठौँ ओभरमा थप एक–एक विकेट लिँदै पाँच विकेट पूरा गरेका थिए।
सन्दीपको उत्कृष्ट प्रदर्शनसँगै नेपालले बहराइनलाई न्यून स्कोरमा समेट्न सफल भएको हो।




















