काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिएका छन्।
पार्टीको तर्फबाट बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका गतिविधिबारे जानकारी तथा ब्रिफिङ लिएपछि सभापति लामिछानेले खोजी, उद्धार र राहत कार्यमा प्रभावकारी रूपमा परिचालन हुन निर्देशन दिएका हुन्।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार विपद् प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतमा पार्टीले प्रभावकारी भूमिका खेल्ने गरी सम्पूर्ण पार्टी पंक्ति र सम्बन्धित निकायलाई सक्रिय हुन भनिएको छ।
आइतबार भएको छलफलमा पार्टीका महामन्त्री विपीन आचार्य, संसदीय दलका उपनेता गणेश पराजुली, संगठन विभाग प्रमुख प्रमोद न्यौपानेलगायत नेताहरूको सहभागिता रहेको थियो।
छलफलमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्य, राहत व्यवस्थापन र पार्टीका तर्फबाट गर्न सकिने सहयोगका विषयमा समेत चर्चा भएको जनाइएको छ।




















