काठमाडौं । चीनका प्रधानमन्त्री लि क्वाङ चीनतर्फको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि पुगेका छन्। नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी बिहीबार प्रभावित क्षेत्रमा पुगेका हुन्।
बुधबार आएको विनाशकारी बाढी र पहिरोपछि नेपालतर्फको प्रभावित क्षेत्रमा करिब १०० जना चिनियाँ नागरिक बेपत्ता रहेको चीनले जनाएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालतर्फको विपद् प्रभावित क्षेत्रमा करिब एक सय चिनियाँ नागरिकसँग सम्पर्क हुन नसकेको जानकारी दिएका हुन्।
चीनतर्फ पनि बाढीले ठूलो क्षति पुर्याएको बताइएको छ। बिहीबार बिहान ८ बजेसम्मको विवरणअनुसार चीनतर्फ तीन जनाको मृत्यु भएको, ५५८ जना बेपत्ता रहेको तथा दुई जना स्थानीय गाउँलेको सकुशल उद्धार गरिएको जनाइएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको चीनले जनाएको छ। प्रभावित क्षेत्रमा थप जनशक्ति तथा आवश्यक स्रोतसाधन परिचालन गरी बेपत्ता व्यक्तिको खोजी र उद्धार कार्य जारी राखिएको बताइएको छ।
नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीको असर दुवै देशका विभिन्न क्षेत्रमा परेको छ भने प्रभावित नागरिकको उद्धार, राहत तथा बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको छ।




















