काठमाडौं । चीनको जलस्रोत मन्त्रालयले नेपाल सीमासँग नजिकै छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम आसपास ठूलो ताल बनेको जनाएको छ।
चीनको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले तिब्बत स्वायत्त क्षेत्रमा पर्ने उक्त क्षेत्रमा पानी थुनिएर ठूलो ताल बनेको जनाएको हो। यी नदी तथा खोलाहरू माथिल्लो त्रिशूली नदी प्रणालीसँग सम्बन्धित सहायक जलप्रवाहका रूपमा रहेका छन्।
तिब्बतबाट बगेर आउने पुरेपु र छोचेन खोलाको जलप्रवाह नेपालतर्फ प्रवेश गरेपछि रसुवागढी आसपासको भोटेकोशी–त्रिशूली नदी प्रणालीसँग जोडिने बताइएको छ।
बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालबाट पानी बाहिरिनसमेत सुरु भएको जनाइएको छ।
चीनको केन्द्रीय टेलिभिजनलाई उद्धृत गर्दै आगामी तीन दिनमा तालमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरिएको छ। पानीको मात्रा निरन्तर बढेमा प्राकृतिक रूपमा बनेको बाँध फुट्ने जोखिम उच्च रहेको बताइएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको ग्लोबल टाइम्सले जनाएको छ। सम्भावित बाँध फुटेपछि तल्लो तटीय क्षेत्रमा आउन सक्ने बाढीको प्रभाव आकलन गर्न बाढीसम्बन्धी विश्लेषणसमेत भइरहेको बताइएको छ।
चीनतर्फ बनेको उक्त ताल र सम्भावित बाँध फुट्ने जोखिमले नेपालतर्फको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीका तल्लो तटीय क्षेत्रमा थप सतर्कता आवश्यक देखिएको छ।



















