काठमाडौं । नेपाल–चीन सीमावर्ती केरुङ–रसुवागढी क्षेत्रमा भदौ १० गते बिहान आएको भीषण बाढी हिमताल फुटेपछि आएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ।
दूतावासले बाढी आएको भोलिपल्ट बिहीबार सूचना जारी गर्दै हिमताल भत्किएपछि ठूलो मात्रामा पहिरो खसेको र त्यसपछिको घटनाक्रममा भोटेकोसी क्षेत्रमा भीषण बाढी आएको उल्लेख गरेको हो।
उक्त बाढीबाट उल्लेख्य मानवीय क्षति भएको दूतावासले जनाएको छ। बाढीको प्रभाव नेपालतर्फ मात्र नभई चीनतर्फ पनि परेको र घटनामा केही मानिसहरू बेपत्ता भएको दूतावासले जनाएको छ।
नेपाल–चीन सीमाक्षेत्रमा आएको बाढीले दुवैतर्फ जनधनको क्षति पुर्याएको जनाउँदै दूतावासले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको संकेत गरेको छ।




















