काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा व्यवस्थापनका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देशले अकल्पनीय विपत्ति भोगिरहेको उल्लेख गर्दै सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतका काममा जुटिरहेको बताएका हुन्।
उनले विपत्तिको सामना गर्न सिङ्गो देश, विश्वभर रहेका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सबै मिलेर यस संकटको सामना गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार बिहीबार बिहान ६ः३० बजेदेखि उद्धारका लागि हवाई उडान सुरु गरिएको छ। बिहानदेखि हालसम्म १५ भन्दा बढी उद्धार उडान सम्पन्न भइसकेका छन् भने थप हेलिकोप्टरलाई पनि उद्धारका लागि तयारी अवस्थामा राखिएको उनले जानकारी दिएका छन्।
नेपाली सेनाले सञ्चालन गरेको उद्धार अभियानमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरिएको प्रधानमन्त्री शाहले बताएका छन्। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसैक्रममा टनेलबाट सात जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको उनले उल्लेख गरेका छन्।
प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्री पुर्याउने कामलाई तीव्रता दिइएको पनि प्रधानमन्त्री शाहले बताएका छन्। उनका अनुसार जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम र ढुङ्गा काट्ने मेसिनलगायत आवश्यक सामग्री प्रभावित क्षेत्रमा पठाइँदैछ।
उनले विपद् प्रभावित क्षेत्रमा छिट्टै अस्थायी रूपमा मोबाइल नेटवर्क र मोबाइल चार्जिङको व्यवस्था गरिने जानकारी दिँदै यसबाट प्रभावित नागरिकलाई परिवारजनसँग सम्पर्क स्थापित गर्न सहयोग पुग्ने बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार नुवाकोटमा अस्थायी शिविर तयार गरिसकिएको छ भने त्यहाँ खाना र पानीको समेत व्यवस्था गरिएको छ। यस्तै, ड्रोनमार्फत प्रभावित क्षेत्रको सर्वेक्षण गरी आवश्यक जानकारी सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेको उनले बताएका छन्। उक्त जानकारीले उद्धार तथा राहत कार्यलाई थप चुस्त र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्धारका क्रममा हेलिकोप्टरबाट सबैभन्दा पहिले सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने प्रधानमन्त्री शाहले स्पष्ट पारेका छन्।
उनले प्रभावित नागरिकलाई धैर्य र संयम कायम राख्न आग्रह गर्दै उद्धार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालित रहेको बताएका छन्।
‘आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ,’ प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस क्रममा हातेमालो गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।’




















