काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि जोखिममा परेका नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्रता दिने निर्णय विपद् व्यवस्थापन प्राधिकरणको बैठकले गरेको छ। प्रभावित क्षेत्रमा उपलब्ध सबै साधन–स्रोत परिचालन गर्दै तत्काल उद्धारलाई प्राथमिकता दिने निर्णय भएको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार र राहतमा केन्द्रित हुने निर्णय भएको जानकारी दिए।
उनका अनुसार हालसम्म प्रभावित क्षेत्रमा उद्धारका लागि आठ वटा हेलिकप्टर परिचालन गरिएको छ। आवश्यकताअनुसार थप स्रोत–साधन परिचालन गर्ने तयारी पनि गरिएको उनले बताए।
बैठकमा घाइते तथा बिरामीको उपचारका लागि त्रिशूलीस्थित सिभिल अस्पताललाई आवश्यक उपकरण र स्वास्थ्य सामग्रीसहित व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन धुन्चे, त्रिशूलीलगायत क्षेत्रमा रहेका हेलिप्याड प्रयोग गर्ने निर्णय पनि गरिएको आङदेम्बेले बताए।
बाढीबाट भएको धनजनको क्षतिको यकिन विवरण आउन बाँकी रहे पनि अहिलेको प्राथमिकता जोखिममा परेका नागरिकको तत्काल उद्धार रहेको उनको भनाइ छ।
‘सरकारले कुनै हिचकिचाहट नगरी अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘कुन–कुन मन्त्रालयलाई कसरी क्रियाशील बनाउने र आवश्यक रकमको जोहो कहाँबाट गर्ने भन्ने विषयमा पक्ष–प्रतिपक्ष नभनी सबै जनताको साथमा उभिनुपर्छ।’
बैठकले विपद् प्रभावित क्षेत्रमा उद्धार, उपचार र राहतका लागि आवश्यक सबै सरकारी संयन्त्रलाई सक्रिय बनाउँदै समन्वयका साथ काम अघि बढाउने निष्कर्ष निकालेको छ।




















