काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बागमती प्रदेशका तीन सांसदलाई पदमुक्त गर्न पठाइएको भनिएको पत्रमाथि प्रश्न उठाएका छन्। उनले उक्त पत्र ‘फेक’ हुन सक्ने आशंका व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा तीन सांसदलाई गरिएको कारबाहीसम्बन्धी पत्र सार्वजनिक गर्दै थापाले पार्टीभित्र आवश्यक निर्णय प्रक्रिया नै पूरा नभएको अवस्थामा यस्तो पत्र कसरी जारी भयो भन्ने प्रश्न उठाएका हुन्।
गत भदौ ८ गतेको मिति रहेको र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको हस्ताक्षर भएको उक्त पत्रमा बागमती प्रदेशका तीन सांसदलाई पदमुक्त गर्ने निर्णय गरिएको उल्लेख छ।
तर, थापाले गत भदौ ४ गतेयता राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक नै नबसेको दाबी गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘गत भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक बसेको छैन। यस्तो अवस्थामा यो निर्णय कसरी आयो, म आश्चर्यचकित भएको छु।’
पत्रमा निर्णयका लागि बैठक बसेको मिति समेत उल्लेख नगरिएको भन्दै उनले उक्त पत्रको आधिकारिकतामाथि थप शंका व्यक्त गरेका छन्।
थापाले लेखेका छन्, ‘यो पत्रमा कुन मितिमा बैठक बसेको हो भन्ने उल्लेख नभएको हुँदा “फेक” हो कि भन्ने पनि लाग्छ। यो सत्य नहोस्।’




















