बागमती । अशोक वृक्षको छहारीमा सीता र त्रिजटाको मूर्ति । मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलाँसेमा राखिएका ती मूर्तिसहितको परिवेशले जो–कोहीलाई पनि त्रेतायुगको झल्को दिने गरेको छ ।
डिभिजन वन कार्यालय, राप्ती, मनहरीको आयोजना र भर्याङ कालिका सामुदायिक वनको व्यवस्थापन र राक्सिराङ गाउँपालिकाको समन्वयमा मूर्ति निर्माण गरिएका थिए । विसं २०८० असार १८ गते बागमती प्रदेशका तत्कालीन प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा प्राण प्रतिष्ठा गरिएको थियो ।
जानकी मन्दिर जनकपुरधामबाट प्राप्त फूलमाला, पाती, प्रसादका साथै प्रसिद्ध दूधमतिबाट ल्याइएको जलले ती मूर्तिमा सेचन गरिनुले पनि यहाँको धार्मिक महिमा र गरिमालाई अझै बढाएको छ । यस क्षेत्रमा प्राकृतिक रुपमा नै उम्रिएका अशोकका रुख छन् । परिसरलाई अशोक बाटिकाकै रुपमा विकास गर्ने सोच राखिएको डिभिजन वन कार्यालय, राप्ती मनहरीका प्रमुख हेमबहादुर थापाले जानकारी दिए ।
केही धर्म गुरुले भगवान्सँगै राक्षसको मूर्ति राख्न हुँदैन भन्ने तर्क राखेका थिए । राक्षस पक्षधर भए पनि एउटी महिलामाथि परेको सङ्कटमा सकारात्मक सहयोग गर्ने त्रिजटालाई भूमिकाका आधारमा भगवान्सरह नै मान्नुपर्ने तर्क गरिएको स्थानीयवासी बताउँछन् ।
लङ्कामा सीतालाई अपहरण गरेर रावणले लगेपछि सीताको रेखदेखका लागि राखिएकी त्रिजटाले सीतालाई हौसला प्रदान गरेको धर्मग्रन्थमा उल्लेख छ । बाँदर सेनासहितका राम लक्ष्मणले लङ्कामा जित्दै गरेको र छिट्टै सीता र रामको भेट हुने अवस्था रहेको सकारात्मक सन्देश प्रवाह गरेर त्रिजटाले सीतालाई हतोत्साही हुनबाट रोकेका विभिन्न किंवदन्ती रहेका छन् । उक्त मूर्ति मकवानपुरगढी–७ सुकौराका हर्कबहादुर ब्लोनले साढे दुई महिना लगाएर बनाएका हुन् ।
यो क्षेत्रलाई प्रकृति र संस्कृतिको अनुपम सङ्गमस्थलका रुपमा विकास गर्दै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखिएको राक्सिराङ गाउँपालिका–३ का वडाध्यक्ष उत्तम वाइबाले बताए । यहाँस्थित भर्याङ कालिकामा हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन ठूलो मेला लाग्ने गरेको छ । त्यसदिन पूर्वको विराटनगरदेखि पश्चिमको बुटवलसम्मका मानिस मेला भर्न आउने गर्दछन् ।
रावणले सीतालाई हरण गरेर अशोक बाटिकामा लगेर राखेको परिवेशलाई जीवन्त रुपमा चित्रण गर्नेगरी यहाँस्थित सीता अशोक बाटिका परिसरमा रावणको दरबार बनाउने सोच राखिएको छ । सीता अशोक बाटिका, जलपरी झरनाका साथै यहाँको चेपाङ सङ्ग्रहालयलगायत गन्तव्यलाई समेटेर महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सञ्चारकर्मी रामकुमार एलन बताउँछन् ।
“सबैको एकताबद्ध प्रयास भएमा यो क्षेत्र प्रकृति, संस्कृतिसँगै धार्मिक पर्यटनको विशिष्ट गन्तव्य बन्न सक्छ”, उनले भने, “आवश्यक पूर्वाधारको विकास गर्न सकिएमा आन्तरिक पर्यटकका अलावा मित्रराष्ट्र भारतबाट हेटौँडा आउने पर्यटकलाई न्यूनतम एक दिन घुम्नैपर्ने गन्तव्यका रुपमा यस क्षेत्रलाई स्थापित गर्न सकिने सञ्चारकर्मी एलनले बताए । रासस




















