विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा उनले बहुमतसहित विश्वासको मत पाएका हुन्।
मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत खसेको थियो भने विपक्षमा २२ मत परेको थियो। उनलाई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले समर्थन गरेका थिए। नेपाली कांग्रेसका सांसदहरूले भने विपक्षमा मतदान गरेका थिए।
कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सांसद रहेका छन्। दुवै दलको समर्थनसँगै मुख्यमन्त्री कार्कीले ५७ मत प्राप्त गरेका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू भने मतदानमा तटस्थ बसेका थिए। कोशी प्रदेशसभामा सभामुखसहित राप्रपाका पाँच सदस्य छन्। त्यस्तै, जनता समाजवादी पार्टीकी एकमात्र सांसद निर्मला लिम्बु बैठकमा अनुपस्थित थिइन्।
९३ सदस्यीय कोशी प्रदेशसभामा एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा भने ८३ जना सदस्य उपस्थित थिए।




















