काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारप्रति जनताको विश्वास र भरोसा दिनप्रतिदिन कमजोर बन्दै गएको टिप्पणी गरेका छन्। उनले पछिल्ला विभिन्न घटना र आन्दोलनले समाजमा अराजकता तथा अस्थिरता बढ्दै गएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले बारा र सप्तरीका पछिल्ला घटनालाई मात्रै छुट्टै रूपमा हेर्न नहुने बताए। सरकार बनेयता देशका विभिन्न स्थानमा भएका घटना, सामाजिक तथा धार्मिक सद्भावसँग जोडिएका विषय, मिटरब्याज र लघुवित्तपीडितका आन्दोलनलगायतले सरकारको प्रभावकारितामाथि प्रश्न उठाएको उनको भनाइ थियो।
‘यो हाम्रो समाज कता गइरहेको छ ? बारा र सप्तरीका दुईवटा घटनालाई मात्रै हेर्न मिल्दैन,’ उनले भने, ‘हाम्रो सरकार बनेदेखि कप्तानगन्जको घटना होस्, धार्मिक तथा सामाजिक सद्भावको विषय होस्, मिटरब्याज, लघुवित्तपीडित वा डाक्टरसँग सम्बन्धित विषय हुन्, दिनदिनै भइरहेका यस्ता घटनाले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको देखाउँछ।’
समाजमा बढ्दो अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार तथा विभिन्न किसिमका आन्दोलनले आम नेपालीलाई पीडा दिइरहेको उनले बताए।
सांसद सिंहले राज्य र सरकारप्रतिको विश्वास कमजोर हुँदा अपराध र बेथिति बढ्ने चेतावनीसमेत दिए।
‘जब समाजमा बेथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यस्तो समाजमा अपराध बढ्छ,’ उनले भने, ‘यस विषयमा गम्भीर र राम्रो छलफलको आवश्यकता छ।’
उनले पछिल्ला घटनालाई सामान्य रूपमा नलिई समाजमा बढ्दो असुरक्षा, अराजकता र जनविश्वासको संकटबारे सरकारले गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए।




















