जनकपुरधाम । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दुसधराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले थप एक नाबालकलाई पक्राउ गरेको छ। यससँगै घटनामा पक्राउ पर्नेहरूको संख्या आठ पुगेको छ।
प्रहरीले मुख्य आरोपितका रूपमा पक्राउ परेका सुमन थापाले आफ्नो बयानका क्रममा नाम पोलेका १४ वर्षीय प्रदीप खड्कालाई आइतबार साँझ पक्राउ गरेको हो। जीतपुरसिमरा उपमहानगरपालिका–२ निवासी खड्का कक्षा ९ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको सुमन थापाको सोधपुछसम्बन्धी भिडियोमा उनले प्रदीप खड्काको नाम लिएका थिए। उक्त भिडियोमा सुमनले प्रदीपकै योजना र अगुवाइमा बालिकामाथि अपराध भएको दाबी गरेका थिए भने घटनापछि प्रदीप फरार भएको बताएका थिए।
भिडियो सार्वजनिक भएपछि प्रहरीले प्रदीपलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। उनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिएका छन्।
गरिमाको शव फेला परेपछि प्रहरीले प्रारम्भिक चरणमा सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो। त्यसपछि अनुसन्धानका क्रममा प्राप्त सूचना, प्रमाण तथा पीडित परिवारले दिएको पूरक जाहेरीका आधारमा थप व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
शनिबार मात्रै प्रहरीले थप पाँच जनालाई नियन्त्रणमा लिएको थियो। यद्यपि, पक्राउ परेका अन्य व्यक्तिहरूको पहिचान भने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन।
घटनामा बालिकामाथि सामूहिक बलात्कार भएको हुन सक्ने आशंकामा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको बयान, भौतिक प्रमाण तथा अन्य प्राविधिक पक्षको अध्ययन भइरहेको र अनुसन्धान पूरा नभएसम्म यसबारे यकिन निष्कर्षमा पुग्न नसकिने प्रहरीको भनाइ छ।
यस घटनामा थप व्यक्तिको संलग्नता रहेको वा सामूहिक रूपमा अपराध भएको हो कि होइन भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




















