काठमाडौं । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका एक किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्।
बयानका क्रममा खिचिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीमाथि नै गम्भीर प्रश्न उठेको थियो। भिडियोमा आरोपित किशोरले घटनाबारे बयान दिएको दृश्य देखिन्छ।
प्रहरीले बयान कक्षभित्र खिचिएको भिडियो बाहिरिनुमा भिडियो खिच्ने व्यक्तिकै संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा भिडियो खिच्ने प्रहरीलाई पक्राउ गरी हिरासतमा राखिएको बारा प्रहरीले जनाएको छ।
बारा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार पक्राउ परेका प्रहरीमाथि आवश्यक अनुसन्धान भइरहेको छ। उनीमाथि फौजदारी कसुरअन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा भिडियो खिच्ने क्रममा पाँच जना प्रहरीको संलग्नता देखिएको बताइएको छ। घटनामा अन्य प्रहरीको समेत भूमिका रहे–नरहेको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
आरोपितको बयान कक्षभित्र खिचिएको संवेदनशील भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अनुसन्धानको गोपनीयता र प्रहरीको आन्तरिक अनुशासनमाथि प्रश्न उठेको थियो। घटनामा संलग्न अन्य व्यक्तिको पहिचान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।




















