काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा खाली गराउने क्रममा डोजर चलाउन थालिएपछि स्थानीयवासी त्रसित बनेको बताएका छन्। उनले सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान गरिब र सुकुम्बासीमाथि मात्रै केन्द्रित हुन नहुने भन्दै सबैमाथि समान रूपमा कानुन लागू गर्न आग्रह गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले शनिबारदेखि जनकपुरका सार्वजनिक जमिनमा डोजर चलाउन थालिएको र हालसम्म करिब ६५ वटा घरमा डोजर चलाइएको बताए।
उनले अतिक्रमण हटाउने अभियानका क्रममा गरिबको बस्ती मात्र हटाएर प्रभावशाली व्यक्ति र ठूला संरचनालाई उन्मुक्ति दिन नहुने बताए।
‘गरिबहरूको बस्ती मात्रै हटाउने र ठूलाबडालाई नछुने हो कि भन्ने त्रास छ,’ उनले भने, ‘मैले गुठी संस्थानसँग गरेको समन्वयमा १५ दिनभित्र ठूलाबडाका होटल, पोखरी मिचेर बनाइएको होटलको पार्किङ, अस्पताल तथा अन्य संरचनाका विषयमा पनि आवश्यक प्रक्रिया अघि बढाइनेछ।’
झाका अनुसार पोखरी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना र निजी व्यक्तिले भाडामा लगाएर आम्दानी गरिरहेका सार्वजनिक जमिनलाई समेत खाली गराउने तयारी भइरहेको छ।
जनकपुरधाम नेपालका उपमहानगरपालिकामध्ये सार्वजनिक जग्गाको ठूलो हिस्सा रहेको क्षेत्र भएको उल्लेख गर्दै उनले विगतमा भएको जग्गा अतिक्रमणबारे तयार पारिएको प्रतिवेदनका आधारमा अहिलेको अभियान अघि बढाइएको बताए।
‘२०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा निकालिएको प्रतिवेदनमा करिब ९५० बिघा जमिन अपचलन भएको उल्लेख गरिएको थियो,’ उनले भने, ‘त्यही प्रतिवेदनका आधारमा अहिले हटाउने काम भइरहेको छ।’
सांसद झाले सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानप्रति प्रधानमन्त्रीको समेत विशेष चासो रहेको उल्लेख गर्दै त्यसप्रति आभार व्यक्त गरे। तर, अभियानको लक्ष्य र प्रहार केवल गरिब तथा कमजोर वर्गमाथि मात्र हुन नहुनेमा उनले जोड दिए।
‘सबैमाथि समान व्यवहार गरियोस्,’ उनले भने, ‘यसको लक्ष्य अतिक्रमण गरिएको जनकपुरको करिब ९५० बिघा सार्वजनिक जग्गा फिर्ता गराउने हुनुपर्छ।’
उनले सार्वजनिक सम्पत्ति संरक्षणको अभियान निष्पक्ष, सन्तुलित र प्रभावशाली रूपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउँदै गरिबको बस्तीमा मात्र डोजर चलाउने तर प्रभावशाली व्यक्तिले अतिक्रमण गरेका संरचनालाई जोगाउने गलत अभ्यास हुन नहुने बताए।




















