काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय स्वाधीनतामाथि अभूतपूर्व संकट उत्पन्न भएको दाबी गरेका छन्। उनले सुगौली सन्धिपछि नेपालले यति गम्भीर संकट पहिलोपटक सामना गरिरहेको बताएका छन्।
काठमाडौंमा आयोजित ‘कम्युनिष्ट एकता, सहकार्य र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देश वर्तमान समयमा गम्भीर संकटबाट गुज्रिरहेको बताएका हुन्।
‘यो कुरा साँचो हो, अहिले देश साँच्चै संकटमा छ। सबैभन्दा ठूलो कुरा राष्ट्रिय स्वाधीनतामा अहिले जस्तो संकट देखापरेको छ, सायद सुगौली सन्धिपछि यति भयानक संकट नेपालले भोग्नुपरेको थिएन,’ उनले भने।
प्रचण्डले राष्ट्रिय स्वाधीनता, देशभक्तिपूर्ण आन्दोलन, राष्ट्रवादी आन्दोलन र कम्युनिस्ट आन्दोलनबीच नङ र मासुको जस्तै घनिष्ठ सम्बन्ध रहेको बताए।
उनले कम्युनिस्ट पार्टी स्थापना भएदेखि नै कम्युनिस्ट आन्दोलनले देशभक्ति र राष्ट्रिय स्वाधीनताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको दाबी गरे।
‘छ सालमा पार्टी गठन भएदेखि सात साल वरिपरिदेखि आजसम्म आउँदा देशभक्तिपूर्ण आन्दोलनको नेताका रूपमा कम्युनिस्ट आन्दोलन र पार्टीले निरन्तर जनताको पक्षमा लडिराखेको छ,’ उनले भने।
वर्तमान परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षा गर्न कम्युनिस्ट तथा देशभक्त शक्तिहरूबीच एकताको विकल्प नभएको उनको भनाइ थियो। विगतका कमजोरीबाट पाठ सिक्दै अहंकार र मनोगतवादी सोचबाट मुक्त भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
‘अहंकार गरेर वा कुनै खालको मनोगतवादी भ्रममा फेरि फस्ने गल्ती गर्नु हुँदैन,’ प्रचण्डले भने, ‘राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति एकताको अर्को कुनै विकल्प छैन।’




















