काठमाडौं । टप एण्ड टी–२० श्रृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ एनटी स्ट्राइकसँग ८ विकेटले पराजित भएको छ। अष्ट्रेलियाको डार्विनस्थित डीएक्ससी एरिनामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो।
नेपाल ‘ए’ ले दिएको १२३ रनको विजयी लक्ष्य पछ्याएको एनटी स्ट्राइकले १५ ओभरमा २ विकेटको क्षतीमा लक्ष्य पूरा गर्यो। एनटी स्ट्राइकको लागि तेस्रो विकेटको लागि दाउटजी होगेनबोज्म र जोर्डन सिल्कले ८४ रनको अविजित साझेदारी गरे।
व्यक्तिगततर्फ दाउटजीले ३७ बलमा ४ चौका र १ छक्कासहित ५० रनको अविजित अर्धशतकीय पारी खेले। सिल्कले २८ बलमा समान २ चौका र २ छक्कासहित ४२ रनमा अविजित रहे। स्ट्राइकका लागि ओपनरद्वय डार्सी सर्टले २३ र जागा कोदुरुले ८ रन बनाउँदै पेभेलियन फर्किए।
नेपालको लागि बलिङतर्फ पवन सर्राफले २ विकेट लिए। अन्य ५ बलर विकेटविहिन रहे। त्यसअघि, ब्याटिङ गरेको नेपाल ‘ए’ को लागि पवन सर्राफले सर्वाधिक ४१ रन बनाए। उनले ४९ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए।
ओपनर कुशल भुर्तेल ५ बल खेल्दै डकआउट भए। अर्का ओपनर तृतराज दासले १३ रन बनाए। कप्तान अनिल शाहले १४, लोकेश बमले १६ रन बनाए। रासिद खान १० रनमा एलबीडब्ल्यू हुँदा नारायण जोशी १५ रनमा स्टम्पिङ भए।
एनटी स्ट्राइकको लागि बलिङतर्फ हमिस मार्टिनले सर्वाधिक ३ विकेट लिए। टम मेन्जिज, साम बार्कर, विल व्लेयर र डार्सी सर्टले १–१ विकेट लिए। नेपालले दोस्रो खेल बंगलादेश हाई पर्फमेन्स ११ सँग खेल्नेछ।




















