काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र देखिएको विवाद राजनीतिक संवादबाट समाधान गर्नुपर्ने भन्दै असन्तुष्ट नेता तथा कार्यकर्तालाई सानेपा फर्केर संवादमा जुट्न अपिल गरेका छन्।
अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै नेपाली कांग्रेसको १५औँ महाधिवेशनसँग सम्बन्धित गतिविधि रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार सर्वोच्च अदालतमा निवेदन दिने तयारी गरिरहेका बेला महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।
पौडेलले नेपाली कांग्रेस केवल राजनीतिक दल मात्र नभई आम नेपाली जनताको भरोसा, अधिकारको संवाहक र मुलुकको समृद्धिको सपना बोकेको लोकतान्त्रिक अभियान भएको उल्लेख गरेका छन्। पार्टीका अग्रजहरूको त्याग, बलिदान र बीपी कोइरालाको विचारमा स्थापित कांग्रेसले इतिहासका विभिन्न कठिन मोडमा मुलुकलाई सही दिशा दिएको उनको भनाइ छ।
उनले पछिल्लो राजनीतिक घटनाक्रम र मुलुकको अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै यस्तो संवेदनशील समयमा कांग्रेस आफैंभित्र कमजोर र विभाजित भए देश थप राजनीतिक अस्थिरता र विग्रहको भुमरीमा फस्न सक्ने चेतावनी दिएका छन्।
‘मुलुकले हामीबाट एकता र अभिभावकत्व खोजिरहेका बेला हामी आफैंभित्रको बेमेल र असन्तुष्टिले थिचिएका छौं,’ पौडेलले भनेका छन्, ‘समयमै गल्ती सच्याएनौं भने इतिहासले हामीलाई क्षमा दिने छैन।’
महामन्त्री पौडेलले पार्टीभित्रका मतभेदलाई सडक वा अदालतमा लैजानु उपयुक्त नहुने धारणा राखेका छन्। नेपाली कांग्रेसको आन्तरिक विवाद अदालतले निरूपण गर्ने विषय नभएको र राजनीतिक मुद्दाको समाधान राजनीतिक संवादबाटै खोजिनुपर्ने उनको भनाइ छ।
उनले फरक विचार राख्ने सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई पार्टीको साझा केन्द्र सानेपामा आएर खुला र मनैदेखि संवाद गर्न आग्रह गरेका छन्। विगतका कमजोरीमा सामूहिक जिम्मेवारी स्वीकार गर्दै आगामी १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्नेमा उनले जोड दिएका छन्।
‘आम कार्यकर्ताले सुम्पिने नेतृत्वलाई स्वीकार गर्दै लोकतन्त्रलाई थप सुदृढ बनाउने बाटोमा एकजुट भएर लाग्नुपर्छ,’ उनले भनेका छन्।
पौडेलले अहिलेको सरकारलाई प्रभावकारी खबरदारी आवश्यक रहेको उल्लेख गर्दै नेपाली कांग्रेस आन्तरिक विवादमै अल्झिरहे देशले सही नेतृत्व नपाउने बताएका छन्। पार्टीलाई थप सशक्त बनाउन सबै मतभेद थाँती राखेर मूल प्रवाहमा गोलबद्ध हुन उनले आग्रह गरेका छन्।
नेपाल र नेपाली जनताको सुन्दर भविष्यका लागि विनाशर्त सानेपा आएर संवाद र एकताको प्रक्रियामा सहभागी हुन सबैलाई उनले हार्दिक अपिल गरेका छन्।




















