काठमाडौं । जापानमा अध्ययनरत झापाकी २५ वर्षीया नेपाली युवती लक्ष्मी राजवंशी नदीमा मृत फेला परेकी छन्। घटनामा संलग्न भएको आशंकामा जापानी प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
जापानी सञ्चारमाध्यमका अनुसार गत अगस्ट १९ तारिख अर्थात् भदौ ३ गते फुकुओका सहरस्थित नाकागावा नदीमा लक्ष्मीको शव फेला परेको हो। उनी नदीमा घोप्टो परेको अवस्थामा भेटिएकी थिइन्। उनको अनुहार र टाउकोमा चोटसमेत देखिएको बताइएको छ।
शव फेला पर्दा उनले टी–सर्ट र छोटो पाइन्ट लगाएकी थिइन् भने खुट्टामा जुत्ता थिएन।
लक्ष्मी झापाको भद्रपुर नगरपालिका–७, अन्जनी मोडकी स्थायी बासिन्दा हुन्। उनी जापानको फुकुओका सहरको चुओ वार्डमा बस्दै आएकी व्यावसायिक विद्यालयकी विद्यार्थी रहेको फुकुओका प्रहरीले जनाएको छ।
प्रहरीले घटनालाई दुर्घटना नभई हत्या हुन सक्ने आशंकाका साथ अनुसन्धान गरिरहेको छ।
झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाश पाठकले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आवश्यक प्रक्रिया सहजीकरणका लागि पहल भइरहेको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी पाएलगत्तै परराष्ट्र मन्त्रालयमार्फत आवश्यक समन्वय र सहजीकरणको काम अघि बढाइएको बताएका छन्।
उनका अनुसार घटनाको छानबिन, दोषीमाथि कारबाही तथा शव नेपाल ल्याउने प्रक्रियाका लागि नेपाल सरकार, परराष्ट्र मन्त्रालय र जापानस्थित नेपाली दूतावासले पहल गरिरहेका छन्।
टोकियोस्थित नेपाली दूतावासलाई उद्धृत गर्दै सांसद पाठकले जापानी प्रहरीले घटनाबारे सूक्ष्म अनुसन्धान गरिरहेको र यसक्रममा पाँच जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।




















