काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको एकतालाई थप मजबुत बनाउन सबै नेता–कार्यकर्तालाई सक्रिय हुन आग्रह गरेका छन्।
केन्द्रीय नीति प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्दै शर्माले स्वर्गीय नेता प्रदीप गिरीले देखाएको विचार र मार्गलाई आत्मसात् गर्दै पार्टी एकतालाई बलियो बनाउनुपर्ने बताएका हुन्।
गिरीको योगदानको स्मरण गर्दै शर्माले उनको विचार कांग्रेसका लागि सदैव प्रेरणादायी रहेको बताए। उनले गिरीलाई समुद्रसँग तुलना गर्दै भने, ‘उहाँको विचार हाम्रा लागि सदैव प्रेरक छ। उहाँ एक समुद्रजस्तै हुनुहुन्थ्यो। समुद्रमा पौडनेले बाहिर निस्कँदा जति पानी लिएर निस्कन्छ, हामी पनि सायद त्यति मात्र लिइरहेका छौँ।’
स्वर्गीय गिरीले देखाएको बाटोमा अघि बढ्दै पार्टी एकतालाई मजबुत बनाउन सबैलाई क्रियाशील हुनुपर्नेमा उनले जोड दिए।
बैठकमा गिरीको विचार र व्यक्तित्वबारे प्रतिष्ठानका उपप्रमुख मधु आचार्य, सदस्यहरू डा. गोपाल दहित थारु, महेन्द्र यादव, जनक चटौत, इन्जिनियर अमृत ज्ञवाली, प्रकाश लामिछाने, प्रकृति भट्टराई, अनुपा श्रेष्ठ तथा ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठलगायतले धारणा राखेका थिए।
सानेपामा जारी बैठकमा महिला ग्रीन रन, महिला उद्यमशीलता सम्मेलनको तयारी तथा विभिन्न उपसमितिका नीति र कार्ययोजना प्रस्तुतिसहितका विषयमा छलफल भइरहेको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।




















