बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ भक्तिनगरमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानबाट बालिकालाई चकलेटको प्रलोभन देखाएर लगिएको र घृणित कार्यपछि हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ ।
साउन २ गते साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र सानी बालिका मृत अवस्थामा फेला परेकी थिइन् ।
अनुसन्धानका क्रममा उक्त शव जितपुर सिमरा उपमहानगरपालिका–२ दसधुरी बस्ने तीन वर्षीया बालिकाको रहेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी बालिकालाई खोज्ने क्रममा अनुसन्धान गर्दै जाँदा ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक सुमन थापाले चकलेट दिने भनेर बालिकालाई फकाई घटनास्थलसम्म लगेको खुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मंगलबार साँझ बारा प्रहरीले कुकुरसहितको टोली ल्याएर अनुसन्धान सुरु गर्दा सहचालक थापा पनि घटनास्थलमै शव खोज्न प्रहरीलाई सघाइ झैं गरिरहेका थिए । सोही क्रममा कुकुरले उनीतिर संकेत गरेपछि सुमनलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो ।
पक्राउ परेका थापाले बलात्कारपछि हत्या गरेको स्वीकारेको प्रहरीको दावी छ । बारा प्रहरीका अनुसार घटनामा म्याजिक चालकसमेतको संलग्नता देखिएपछि जितपुर सिमरा उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय प्रमोद चौधरीलाई पनि पक्राउ गरिएको छ । चौधरीविरुद्ध जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटनामा अन्य व्यक्तिको संलग्नता भए÷नभएको विषयमा समेत प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




















