काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत परेको छ। प्रस्तावको विपक्षमा १५ मत खसेको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरेका छन्।
मत विभाजन प्रक्रियामा ४६ जना प्रदेश सभा सदस्य सहभागी भएका थिए।
गत साउन २९ गते नेकपा संसदीय दलका नेता भट्ट नेकपा एमालेको समर्थनमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।
सुदूरपश्चिम प्रदेश सभामा नेकपाका २२ जना सांसद रहेका छन्, जसमा सभामुख र निलम्बनमा परेका सदस्यसमेत समावेश छन्। नेकपा एमालेका ११ जना सांसद छन्।
५३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद छन् भने दुई प्रदेश सभा सदस्यको पद रिक्त रहेको छ।




















