काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री तथा सांसदहरूको कार्यशैली र संसद्मा हुने प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा भएको छलफलमा सांसद तथा मन्त्रीहरूले संसद्भित्र र बाहिर प्रस्तुत हुँदा अपनाउनुपर्ने व्यवहार र भाषाशैलीबारे चर्चा भएको हो।
पछिल्लो समय संसद्को प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने तथा आफ्ना माग र जिज्ञासाको सम्बोधन नभएपछि केही सांसदले पनि रुखो र अमर्यादित व्यवहार देखाउने गरेको भन्दै आलोचना भइरहेका बेला रास्वपाले आन्तरिक छलफल गरेको जनाएको छ।
छलफलका क्रममा जनताका मुद्दालाई संसद्मा कसरी प्रभावकारी, जिम्मेवार र मर्यादित ढंगले उठाउने भन्ने विषयमा समेत विचार–विमर्श भएको थियो।
सभापति लामिछानेले रास्वपाका तर्फबाट संसद्मा हुने प्रस्तुति थप संयमित, जिम्मेवार र प्रभावकारी हुनुपर्नेमा जोड दिँदै सांसद र मन्त्रीलाई आफ्नो व्यवहार तथा भाषाशैलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन्।
पछिल्लो समय संसदीय समिति तथा संसद्मा असन्तुष्टि व्यक्त गर्ने क्रममा केही सांसदले शैलीगत सन्तुलन गुमाएको भन्दै आलोचना भएपछि पार्टीले त्यसलाई गम्भीर रूपमा लिएको बताइएको छ। सोही विषयलाई ध्यानमा राख्दै लामिछानेले सांसद तथा मन्त्रीलाई संसदीय मर्यादा कायम राख्दै जनताका मुद्दा प्रभावकारी रूपमा उठाउन आग्रह गरेका छन्।




















