काठमाडौं । प्रतिनिधिसभामा पार्टीका सांसदहरूको गतिविधि र संसदीय अनुशासनमाथि प्रश्न उठ्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री तथा सांसदहरूसँग अन्तर्क्रिया गर्ने भएको छ।
बुधबार बिहान ११ बजे संसदीय दलको कार्यालयमा आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले मन्त्री तथा सांसदहरूलाई आवश्यक निर्देशन दिने बताइएको छ।
पार्टी स्रोतका अनुसार पछिल्लो समय सरकारमा सहभागी मन्त्री र पार्टीका सांसदहरूबीच देखिएको असमझदारी, संसद्भित्रका गतिविधि तथा संसदीय अनुशासनका विषयमा बैठकमा समीक्षा गरिनेछ। संसदीय मर्यादामाथि प्रश्न उठेका सांसदहरूलाई सचेतसमेत गराइने तयारी गरिएको एक नेताले बताए।
सांसदहरूले संसद्मा प्रयोग गर्ने भाषा, प्रस्तुत हुने शैली तथा सार्वजनिक गतिविधि मर्यादित हुनुपर्ने भए पनि त्यसतर्फ पर्याप्त ध्यान नदिने प्रवृत्ति बढ्दै गएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिन थालेको बताइएको छ।




















