काठमाडौं । नेकपाका सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहलाई आफ्ना मन्त्रीहरूको गतिविधि नियन्त्रण गर्न सुझाव दिएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले सरकारका मन्त्रीहरू आफ्नो जिम्मेवारीभन्दा बाहिरका गतिविधिमा केन्द्रित भएको टिप्पणी गर्दै प्रधानमन्त्रीले उनीहरूलाई नियन्त्रण गर्नुपर्ने बताएका हुन्।
गृहमन्त्री आफ्नो निर्वाचन क्षेत्रमा जानु स्वाभाविक भए पनि मतदातासँग मत फिर्ता लिन आग्रह गर्नु उपयुक्त नभएको उनको भनाइ थियो।
‘गृहमन्त्रीज्यू आफ्नो निर्वाचन क्षेत्रमा गइराख्नुभएको छ, राम्रो कुरा हो। जनप्रतिनिधि गृह जिल्ला र क्षेत्रमा जानु स्वाभाविक हो। मतदाताले आफ्ना विगतका प्रतिबद्धताबारे जवाफ खोज्छन्, तर उहाँले मत फिर्ता लानु भनिराख्नुभएको छ,’ पुनले भने।
उनले देशभर भइरहेका विपद्का घटनाबारे गृहमन्त्रीले संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने पनि बताए।
पुनले सरकारले ग्यास, खानेपानी, मल र राहदानीका लागि जनतालाई लामो लाइनमा बस्नुपर्ने अवस्था सिर्जना गरेको भन्दै सरकारको आलोचना गरे। विगतका सरकारलाई ‘लाइन नै लाइन’ को अवस्थाका लागि आलोचना गर्ने नयाँ राजनीतिक शक्तिको सरकारले समेत समस्या समाधान गर्नुको सट्टा थप लाइन सिर्जना गरेको उनको टिप्पणी थियो।
‘नयाँ पार्टीको स्पिरिट थियो, विगत ३५ वर्षमा लाइन नै लाइन भनिन्थ्यो। आज त झन् थप लाइनहरू छन्। ग्यासमा पनि लाइन, खानेपानीमा पनि लाइन, मलमा पनि लाइन, पासपोर्टमा पनि लाइन। कतिवटा लाइन लाग्नुपर्ने हो जनताले? नयाँ भनेको लाइन थप्ने हो?’ उनले प्रश्न गरे।




















