काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राईले सरकारले पुराना राजनीतिक दललाई दोष दिएर आफ्नो जिम्मेवारी र कार्यक्षमताको अभावबाट पन्छिन नमिल्ने बताएका छन् ।
सोमबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राईले ग्यास अभावलगायत जनजीविकासँग जोडिएका समस्यामा सरकारले बहानाबाजी नगरी ठोस परिणाम दिनुपर्ने बताए ।
उनले पुराना दलले काम गर्न नसकेकै कारण जनताले नयाँ शक्तिलाई मत दिएको उल्लेख गर्दै अहिलेको सरकारले पनि पुरानै दललाई दोष दिइरहने हो भने सरकारको औचित्यमाथि प्रश्न उठ्ने बताए।
प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर जवाफ दिन सभामुखले गरेको रुलिङलाई सकारात्मक उपलब्धिका रूपमा लिनुपर्ने उनको भनाइ छ। प्रधानमन्त्री संसद्मा उपस्थित भएको दिन आफूले सीमा समस्या तथा जनजीविकासँग सम्बन्धित महत्वपूर्ण प्रश्न उठाउने तयारी गरेको उनले जानकारी दिए ।
जनताले भोगिरहेका समस्यालाई आफूले समेत व्यक्तिगत रूपमा महसुस गरेको उल्लेख गर्दै राईले सरकारले गुनासो गर्नेभन्दा काम गरेर परिणाम देखाउनुपर्नेमा जोड दिए।
प्रहरी नेतृत्वमाथि लागेको भ्रष्टाचारको आरोपका विषयमा भने उनले प्रमाणबिना कसैलाई आरोपित गर्न नहुने बताए। कुनै व्यक्तिमाथि प्रश्न उठाउँदा निवेदकले ठोस प्रमाणसहित विषय प्रस्तुत गर्नुपर्ने उनको धारणा छ।




















