काठमाडौँ । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले पूर्वगृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजीपी)माथि पछिल्लो समय भइरहेको अपमानजनक व्यवहारप्रति आपत्ति जनाएकी छन्।
राष्ट्रियसभाको शून्य समयमा बोल्दै झाँक्रीले चुनौतीपूर्ण परिस्थितिमा जिम्मेवारी सम्हालेका पूर्वगृहमन्त्री र प्रहरी संगठनका प्रमुखलाई बदनाम गर्ने, लाञ्छना लगाउने तथा फोन ट्यापिङ गर्नेजस्ता गतिविधि भइरहेको भन्दै प्रश्न उठाएकी हुन्।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा प्रहरी पोशाक खरिदका विषयमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई सांसद खगेन्द्र सुनारले अपमानजनक शैलीमा प्रश्न गरेको प्रसङ्ग तथा सोही विषयलाई लिएर पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालमाथि सार्वजनिक रूपमा भइरहेका टिप्पणीप्रति लक्षित गर्दै झाँक्रीले आफ्नो धारणा राखेकी हुन्।
उनले भनिन्, ‘आजभन्दा ठीक ११ महिना अगाडि डढेलोको भग्नावशेष र प्रहरीको लाशमाथि चुनौतीपूर्ण जिम्मेवारी लिएका तत्कालीन गृहमन्त्री र प्रहरी संगठनका प्रमुखहरू, जसले शान्तिपूर्ण निर्वाचन गराए, आज तिनै व्यक्तिहरूलाई बदनाम गर्ने, लाञ्छना लगाउने, फोन ट्यापिङ गर्ने काम भइरहेको छ।’
झाँक्रीले सार्वजनिक जिम्मेवारी सम्हालेका व्यक्तिले पदबाट बाहिरिएपछि पनि सम्मानपूर्वक बाँच्न पाउने वातावरण हुनुपर्ने बताइन्।
‘कुनै पनि सार्वजनिक जिम्मेवारी प्राप्त गरेको व्यक्ति सम्मानित ढङ्गले बाँच्नै नपाउने हो ? यो समाज कता गइरहेको छ ?’ उनले प्रश्न गरिन्।
आफूले विगतमा सरकार, आफ्नै पार्टी र कहिलेकाहीँ आफैँलाई समेत प्रश्न गर्दै आएको उल्लेख गर्दै झाँक्रीले अहिले भने समग्र समाजप्रति प्रश्न गर्नुपर्ने अवस्था आएको बताइन्।
‘मैले सरकारलाई प्रश्न गर्थेँ, आफ्नै पार्टीलाई प्रश्न गर्थेँ, कहिलेकाहीँ म आफैँमाथि पनि प्रश्न गर्थेँ। तर, आज म यो समाजलाई प्रश्न गर्छु– यो समाज गतिशील छ, तर प्रश्नरहित छैन,’ उनले भनिन्।




















