काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको छ।
भेटका क्रममा दुई देशका सेनाबीचको आपसी हित, पारस्परिक सम्बन्ध तथा सहकार्यका विभिन्न विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
प्रधानसेनापति सिग्देलको निमन्त्रणामा आइतबार काठमाडौं आएका भारतीय सेनाध्यक्ष सेठले सोमबार टुँडिखेलस्थित सैनिक मञ्चमा वीर सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण गरेका थिए। त्यसपछि उनले जंगी अड्डामा गार्ड अफ अनर ग्रहण गरेका थिए।
नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष सेठले राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्नसमेत ग्रहण गर्ने कार्यक्रम रहेको छ।
नेपाल र भारतका प्रधानसेनापतिलाई एकअर्काको देशको सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ।




















