काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई प्रतिनिधि सभा नियमावलीका सम्बन्धित व्यवस्थाबमोजिम सांसदका प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन्।
सभामुख अर्यालले भने, ‘प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्मानीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।’
यो प्रधानमन्त्री शाहलाई सभामुख अर्यालले गरेको पहिलो रुलिङ हो। विपक्षी दलका सांसदहरूले लामो समयदेखि प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराई प्रश्नको जवाफ दिन सभामुखमार्फत रुलिङ गर्न माग गर्दै आएका थिए।
सोमबारको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख अर्यालले सांसदहरूको माग र विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका थिए।
‘माननीय सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली, २०७३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहेको विरोधप्रति मेरो ध्यानाकर्षण भएको छ,’ सभामुख अर्यालले भने।
विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले यसअघि प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति समेत स्पष्टीकरण माग गर्दै आएका छन्। सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएको भन्दै विपक्षी सांसदहरूले त्यसको विरोध गर्दै आएका हुन्।
उक्त अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसद्मै उपस्थित भएर स्पष्ट पार्नुपर्ने विपक्षी सांसदहरूको माग छ।
त्यसैगरी, प्रतिनिधि सभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ। सो व्यवस्थाअनुसार पनि प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराई प्रश्नोत्तर गराउनुपर्ने माग सांसदहरूले गर्दै आएका छन्।
सभामुखको रुलिङसँगै प्रधानमन्त्री शाह अब प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने अपेक्षा गरिएको छ।




















