काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती र लुम्बिनी प्रदेशमा आज हुने मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ।
दुवै प्रदेशका मुख्यमन्त्रीले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका बेला राप्रपाले मतदानमा सहभागी नहुने निर्णय गरेको हो।
राप्रपाले यस विषयमा आफ्ना प्रदेशसभा सदस्यलाई मतदानमा सहभागी नहुन निर्देशन दिएको छ। पार्टीले सम्बन्धित संसदीय दलका नेतालाई प्रदेशसभा सदस्यहरूका लागि ह्विप जारी गर्नसमेत निर्देशन दिएको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको निर्देशनमा प्रदेशमा सरकार निर्माणसम्बन्धी विषयमा पार्टीले अर्को निर्णय नगरेसम्म राप्रपा तटस्थ रहने उल्लेख गरिएको छ।
राप्रपाका बागमती प्रदेशसभामा १२ र लुम्बिनी प्रदेशसभामा ४ जना सांसद छन्। राप्रपाले विश्वासको मतको पक्षमा मतदान नगरेमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई आवश्यक बहुमत जुटाउन कठिन हुने देखिएको छ।




















