विराटनगर । जिल्ला कारागार मोरङमा प्रहरीले खानतलासी सुरु गरेपछि कैदीबन्दीले प्रदर्शन गरेका छन्। सोमबार बिहान कारागारभित्र खानतलासी सुरु भएपछि ब्लक ‘बी’ का कैदीबन्दी छतमा बसेर प्रदर्शनमा उत्रिएका हुन्।
विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागारमा बिहान करिब ५ बजेदेखि प्रहरीले खानतलासी सुरु गरेको थियो। खानतलासीका क्रममा कैदीबन्दीले प्रहरीलाई अवरोध गरेपछि अवस्था तनावपूर्ण बनेको हो।
घटनास्थलमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली पुगेको छ।
प्रशासनले कारागारमा खानतलासीसँगै विवादास्पद छविका अभिषेक गिरीका केही सहयोगीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेको थियो। सोही क्रममा प्रहरीले खानतलासी सुरु गरेपछि कैदीबन्दीले विरोध जनाएका हुन्।
कैदीबन्दीले प्रशासनले आफूहरूलाई पटक–पटक दुःख दिने गरेको आरोप लगाउँदै प्रदर्शन गरेका छन्। अवस्था नियन्त्रणमा लिन सुरक्षा निकायले कारागारभित्रको स्थिति निगरानी गरिरहेको छ।




















