काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूविरुद्ध पछिल्लो तीन दिनमा धेरै निन्दा भएको बताएका छन्। कांग्रेसको संस्थापन इतर भेलालाई लक्षित गर्दै उनले आफूवरुद्ध धेरै निन्दा गरिएको बताए।।
‘बीपी र विद्रोहका ती दिन’ को औपचारिक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले भने, ‘धर्तीमा जन्मिएदेखि आजसम्म जानेर वा नजानेर जति मेरो निन्दा भएको थियो, त्योभन्दा धेरै यो तीन दिनमा भयो। जता हेर्यो त्यतै निन्दाका हेडलाइनहरू देख्छु। भोलि तपाईंहरूलाई बोलाए एक घन्टा बोल्छु।’
थापाले जननायक बीपी कोइरालाका विचार र निर्णयलाई नेताहरूले आफ्नो अनुकूलता र सुविधाअनुसार मात्रै व्याख्या गर्न नहुने बताए। उनले बीपी कोइराला केवल राजनीतिक दलका नेता नभई समयभन्दा अगाडि देख्न सक्ने महान् चिन्तक भएको उल्लेख गरे।
उनले २०३३ सालमा बीपीले लिएको राष्ट्रिय मेलमिलापको नीति तत्कालीन राजनीतिक परिवेश, राष्ट्रिय सार्वभौमसत्ता र लोकतान्त्रिक मूल्य-मान्यतासँग जोडिएको ऐतिहासिक निर्णय भएको बताए। अहिले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न रातारात बीपीलाई सम्झिने र आफूलाई जे मन लाग्छ, त्यहीअनुसार बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढेको भन्दै थापाले आपत्ति जनाए। कांग्रेसका नेताहरूले समेत आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न ‘राष्ट्रिय मेलमिलाप’को प्रसङ्गमा बीपी कोइरालालाई सम्झिने गरेको उनको टिप्पणी थियो।
थापाले राजनीतिक सफलता र असफलताको परिभाषा पद वा सत्ता प्राप्तिमा मात्र सीमित गर्न नहुने बताए। लेखक धर्म गौतमजस्ता पुरानो पुस्ताका सयौं-हजारौं निष्ठावान् कार्यकर्ताको जीवनभरको त्याग र समर्पणकै कारण आज मुलुकमा लोकतन्त्र सम्भव भएको उनले स्मरण गरे। कति पटक मन्त्री, सांसद वा मेयर बनियो भन्ने आधारमा मात्रै व्यक्तिको राजनीतिक मूल्यांकन गर्दा निष्ठाको राजनीति ओझेलमा पर्ने उनको भनाइ थियो।




















