काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साताका लागि सारिएको छ। यसअघि लामिछाने अगस्ट दोस्रो साता चीन भ्रमणमा जाने तयारी थियो।
आन्तरिक तयारीलगायतका कारण निर्धारित भ्रमण मिति परिवर्तन गरिएको स्रोतले जनाएको छ।
भ्रमणका क्रममा लामिछाने तिब्बतस्थित मानसरोवरसमेत पुग्ने कार्यक्रम तय भएको एक उच्च सरकारी अधिकारीले बताएका छन्। यसअघि उनको मानसरोवर भ्रमण हुने वा नहुनेबारे अन्योल थियो।
चीन भ्रमणका क्रममा लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने तयारी रहेको बताइएको छ। यद्यपि, चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भने उनको भेटवार्ता नहुने स्रोतले जनाएको छ।
यसअघि भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका लामिछानेले चीनमा पनि त्यस्तै उच्चस्तरीय भेटवार्ताको प्रबन्ध मिलाउने प्रयास गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।




















