काठमाडौँ । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। पहिरोमा परी दुई जना अझै बेपत्ता छन् भने ११ जना घाइते भएका छन्।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पहिरोमा बेपत्ता भएका दुई जनामध्ये ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रती खत्रीको खोजीका क्रममा शव फेला परेको हो। यसअघि घाइते अवस्थामा उद्धार गरिएका ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पताल जाजरकोटले जनाएको छ।
पहिरोमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र सोही नगरपालिकाको गैरीगाउँका १४ वर्षीय हरिस विक अझै बेपत्ता छन्। हरिस पहिरोपछि घरबाट निस्किएयता सम्पर्कविहीन भएका हुन्।

प्रहरीका अनुसार पहिरोले आठ वटा घरमा ठूलो क्षति पुगेको छ। साउन ३० गते साँझ करिब ५ः३० बजे आएको पहिरोमा परी ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्कीसहित ११ जना घाइते भएका छन्।
घाइतेमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज र सुर्खेततर्फ पठाइएको छ। उपचारपछि तीन जना डिस्चार्ज भइसकेका छन् भने अन्य घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।
बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। साउन ३१ गते बिहानदेखि सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमान्डमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त सशस्त्र प्रहरीसहितको टोली खोजीमा खटिएको हो।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी करिब १५५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
यसैबीच, पहिरोको थप जोखिमलाई ध्यानमा राख्दै भेरी नगरपालिका–२ का करिब २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।




















