काठमाडौँ । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। पहिरोमा परी नौ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार पहिरोमा परी स्थानीय ५२ वर्षीय केदार कार्कीको मृत्यु भएको हो।
पहिरोमा परी सोही वडाका ५४ वर्षीय उमासिंह खत्री, ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीय रती खत्री बेपत्ता भएका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।
घाइते नौ जनामध्ये एक जनाको नेपालगञ्ज नर्सिङ अस्पताल, दुई जनाको कोहलपुर मेडिकल कलेज र तीन जनाको स्थानीय डौरीकाँडा मेडिकल सेन्टरमा उपचार भइरहेको छ। अन्य तीन जना उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किएका छन्।
पहिरोको थप जोखिमलाई ध्यानमा राख्दै सो वडाका करिब २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका सुरक्षाकर्मी परिचालन गरी बेपत्ताको खोजी तथा उद्धार कार्य भइरहेको छ।




















