जकार्ता । पूर्वी इन्डोनेसियाको पूर्वी नुसा तेङ्गारा स्थित फ्लोरेस क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
युरोपेली-भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रका अनुसार यो भूकम्प स्थानीय समय अनुसार भूकम्प बिहान करिब ४:५८ बजेगएकाे हाे । यसकाे केन्द्रविन्दु नागेकेओबाट ३० किलोमिटर टाढा र गहिराइ १५ किलोमिटर रहेको छ।
भूकम्पलगत्तै तटीय क्षेत्रमा सुनामीको उच्च जोखिम रहेको जनाउँदै अधिकारीहरूले सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानतर्फ जान (इभ्याकुएसन) आदेश दिएका छन्।
इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान तथा भूभौतिकी एजेन्सीका भूकम्प तथा सुनामी निर्देशकले विज्ञप्ति जारी गर्दै भूकम्पको प्रकृति र मोडल अनुसार पूर्वी नुसा तेङ्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेङ्गारा प्रान्तहरूमा सुनामी आउन सक्ने चेतावनी दिएका छन् । भूकम्पबाट हालसम्म कम्तीमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।
भूकम्पपछिको स्थिति र सम्भावित सुनामीको खतरालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत टोलीलाई उच्च सतर्क अवस्था (हाई अलर्ट) मा राखिएको छ।




















