काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका प्रमुखसहितका अधिकारीमाथि गरेको व्यवहारप्रति आपत्ति जनाएका छन् ।
गत बुधबार सार्वजनिक लेखा समितिको बैठकमा प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी विषयमा छलफल भएको थियो। बैठकमा सांसद सुनारले खरिद प्रक्रियालाई नैतिकताको विषयसँग जोड्दै प्रहरी नेतृत्वमाथि प्रश्न उठाएका थिए।
उक्त बैठकमा अनुपस्थित गृहमन्त्री गुरुङले शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सार्वजनिक लेखा समितिमा आफ्नो अनुपस्थितिमा गृह मन्त्रालयका सचिव, सहसचिव तथा प्रहरी प्रमुखमाथि गरिएको व्यवहारप्रति असन्तुष्टि जनाए।
‘अस्ति म त्यो समितिमा नभएको हिसाबले आज यो समितिमा एउटा सानो भन्ने मौका पाएको छु। जसरी मेरो गैरउपस्थितिमा हाम्रो सचिवज्यू र सहसचिवज्यूहरू, प्रहरी प्रमुखलाई जसरी एउटा समितिमा प्रस्तुत गर्नुभयो, त्यसमा चाहिँ गृहमन्त्रीको ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘दिस इज नट राइट, दिस इज नट गुड।’
गृहमन्त्री गुरुङले कुनै व्यक्तिविरुद्ध परेको उजुरीकै आधारमा उसलाई दोषी ठहर गर्न नमिल्ने बताए। आरोप पुष्टि नभएसम्म सम्बन्धित व्यक्तिको चरित्रमाथि प्रश्न उठाउने वा दोषी करार गर्ने कार्य उचित नहुने उनको भनाइ थियो।
‘कसैलाई एउटा भनौँ न, उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन। आरोप हो, जोसुकैले पनि लगाउन सक्यो। त्यसको आधारमा कसैको चरित्रहत्या गर्न पाइँदैन,’ उनले भने।
सांसद सुनारको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले भने, ‘इट इज नट गुड। अनि हाम्रो गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ यसमा चाहिँ। वि आर नट ह्याप्पी अबाउट इट।’
गृहमन्त्री गुरुङले गृह प्रशासनअन्तर्गतका कर्मचारी तथा प्रहरी अधिकारीहरूले सरकारको नीतिअनुसार जिम्मेवारी निर्वाह गरिरहेको दाबी गरे।
‘मन्त्रालयका साथीहरू पनि यहीँ भएको हिसाबले मैले कुरा गर्न चाहेँ। हाम्रा कर्मचारीहरूले जसरी काम गर्नुभएको छ, मिहिनेत गर्नुभएको छ, म प्रत्यक्षदर्शी छु। जसरी आईजी साबहरूले काम गर्नुभएको छ, म प्रत्यक्षदर्शी छु,’ उनले भने।
सरकारको नीति र भावनाअनुसार काम गर्न गृह प्रशासनका कर्मचारी तथा प्रहरी अधिकारीहरू दिनरात खटिरहेको भन्दै उनले उनीहरूको कामप्रति आफू विश्वस्त रहेको बताए।
‘आरोप लगाउन जोसुकैले पनि सक्यो, तर त्यो पुष्टि नभएसम्म कसैलाई दोषी करार गरेर एउटा समितिमार्फत त्यस्तो गर्नु राम्रो होइन,’ गृहमन्त्री गुरुङले भने।




















