काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी मंसिरअघि नै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरेर गगन थापालाई ७१ प्रतिशत मतसहित सभापति बनाउने दाबी गरेका छन्।
पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै शर्माले जस्तोसुकै प्रतिकूल परिस्थिति आए पनि पार्टीभित्र सहमति जुटाएर मंसिरअघि नै महाधिवेशन गर्नुपर्ने बताएका हुन्।
‘१५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ। ५१ प्रतिशत होइन, अब ७१ प्रतिशत मत ल्याएर गगन थापालाई सभापति बनाउन प्रतिबद्ध छौँ,’ शर्माले भने।
उनले पार्टीको असन्तुष्ट समूहले आयोजना गरेको भेलाप्रति पनि टिप्पणी गरेका छन्। उक्त भेला पार्टी निर्माणभन्दा आलोचना र निन्दामा केन्द्रित भएको शर्माको आरोप थियो।
शर्माले असन्तुष्ट समूहको पछिल्लो भेलालाई यसअघि बीपी स्मृति दिवसका अवसरमा संस्थापन पक्षमाथि आलोचना गर्न आयोजना गरिएको कार्यक्रमसँग तुलना गर्दै ‘दोस्रो निन्दा सम्मेलन’को संज्ञा दिए।
पार्टीभित्र आपसी आलोचना र आरोप–प्रत्यारोपमा केन्द्रित गतिविधिले कांग्रेसलाई बलियो बनाउन सहयोग नगर्ने भन्दै उनले महाधिवेशन सम्पन्न गरेर पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिए।




















