धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका थिए। नेकपा र नेकपा एमालेको समर्थनमा उनले दाबी पेस गरेपछि प्रदेश प्रमुखले उनलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। उनले शुक्रबार बिहान ११ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका थिए।
भट्टको नियुक्तिसँगै शुक्रबार दिउँसो ३ बजे शपथ ग्रहणको तयारी गरिएको छ। उनले शुक्रबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सम्भावना रहेको नेकपा नेताहरूले बताएका छन्।
नेकपा र एमालेबीच सुदूरपश्चिम प्रदेशमा मन्त्रालय बाँडफाँटसमेत भइसकेको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउनेछ। एमालेले आर्थिक मामिला, सामाजिक विकास तथा वन वा कृषिमध्ये एक मन्त्रालयको नेतृत्व गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
यसअघि असार ३१ गते एमालेले बजेटप्रति असहमति जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि शाहले बिहीबार प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनले प्रदेश प्रमुखलाई राजीनामा बुझाएलगत्तै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको थियो।
मुख्यमन्त्री नियुक्त भएपछि भट्टले दूबोको माला लगाएर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सुदूरपश्चिमका २७ लाख जनताको नेतृत्व गर्ने अवसर पाउनु आफ्ना लागि खुसीसँगै ठूलो जिम्मेवारी र चुनौती भएको बताए।
‘म खुसी नै छु । खुसीभन्दा बढी जिम्मेवारीबोध र अलि बढी चुनौतीको भारीले म थिचिएको अनुभव पनि सँगसँगै गरेको छु,’ उनले भने।
भट्टले सुदूरपश्चिमेली जनतालाई केन्द्रमा राखेर प्रदेश सरकार सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
‘धेरै चमत्कार त सम्भव हुँदैन, जे गर्नेछु राम्रो गर्नेछु। र मान्छेलाई राम्रो गर्यो भन्ने अनुभूति दिलाउन प्रयास गर्नेछु,’ उनले भने।




















