काठमाडौं । अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। साउन २७ गते साँझ गएको पहिरोमा परी पाँच जना अझै बेपत्ता छन्।
प्रहरीका अनुसार पहिरोमा परी स्थानीय २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर घाइते भएका छन्। उनीहरूलाई थवाङ स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ।
बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। लगातार वर्षासँगै लेदोसहितको पहिरो खसिरहेकाले खोज तथा उद्धारमा कठिनाइ भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
पहिरोमा परी मृत्यु हुनेमा स्थानीय १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमल बहादुर पुन मगर, ४० वर्षीया जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन्।
मृतकमध्ये एक महिला र दुई पुरुषको शव प्यूठानको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ। त्यसपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म प्यूठानबाट विपद् व्यवस्थापनसम्बन्धी सामग्रीसहितको थप टोली पनि बेपत्ताको खोजीका लागि परिचालन गरिएको छ।
बेपत्ता हुनेमा स्थानीय ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लीलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर रहेका छन्।
पहिरोमा परी मृतक कमल बहादुर पुन मगरको घरसहित अन्य घर तथा गोठसमेत पुरिएका छन्। पहिरोका कारण घरगोठमा रहेका पशुचौपायासमेत बेपत्ता भएका छन्।
लगातारको वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएकाले उद्धार तथा खोजी कार्य जोखिमपूर्ण बनेको छ। सुरक्षा निकायले जोखिमका बीच बेपत्ताको खोजीलाई निरन्तरता दिइरहेको जनाएको छ।



















