काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन्।
बिहीबार पाँच महिनापछि स्वदेश फर्किएका देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका कोइरालाले पार्टीको सभापतिको जिम्मेवारीका विषयमा कुनै कानुनी अड्चन नरहेको दाबी गरेका हुन्।
उनले देउवाको नेतृत्वमा नै पार्टीलाई थप बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए। सभापतिको जिम्मेवारीमाथि कुनै ‘स्टे अर्डर’ नरहेको उल्लेख गर्दै कोइरालाले कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्षलाई एक ठाउँमा ल्याउने प्रयास जारी रहने बताए।
‘सानेपा कांग्रेस छुट्टिएर गएको छ। उनीहरू आउनुपर्ने हो। उनीहरूले अनादर गर्छन्, के गर्छन्, त्यो उनीहरूको कुरा हो। देउवा पार्टीको सभापति नै हो,’ कोइरालाले भने, ‘अहिले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै हो। उहाँ नै सभापति हो। स्टे अर्डर आएको छ कि छैन ? हाम्रो प्रयास एक गर्न रहन्छ।’
कोइरालाले पार्टीभित्र देखिएको असन्तुष्टि र विभाजनलाई संवादमार्फत समाधान गर्नुपर्ने बताए। बाहिरिएका पक्षलाई पुनः कांग्रेसको मूलधारमा समाहित गर्दै पार्टीलाई एक ढिक्का बनाउनुपर्ने उनको भनाइ छ।
उनले कांग्रेसभित्रको आन्तरिक विवाद लामो समयसम्म कायम रहन नसक्ने उल्लेख गर्दै ढिलोचाँडो सबै पक्ष एक ठाउँमा आउनुको विकल्प नरहेको स्पष्ट पारे।
पार्टीलाई बलियो बनाउन आन्तरिक एकता अपरिहार्य रहेको भन्दै कोइरालाले सबै पक्षबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्न आफ्नो प्रयास जारी रहने बताए।



















