काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रोल्पाको थवाङमा पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै खोज, उद्धार र राहत कार्यलाई तीव्र बनाउन सरकार तथा स्थानीय प्रशासनसँग आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले रोल्पाको थवाङ गाउँपालिका–५ मा भीषण पहिरो जाँदा ११ वटा घर पुरिएर १३ जना नागरिक बेपत्ता भएको र हालसम्म ४ जनाको शव फेला परेको दुःखद् खबरले आफूलाई अत्यन्तै मर्माहत बनाएको उल्लेख गरेका छन् ।
अध्यक्ष ओलीले ‘सरकारले पहिरो प्रभावित परिवारजनको उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र पुनर्वासको अविलम्ब व्यवस्था गरोस्।’ भन्ने आग्रह पनि गरेका छन् ।
यस दुःखद् घटनामा पार्टीका पूर्व केन्द्रीय सदस्य नवीन रोका मगरकी आमा हस्तमा रोका मगर पनि पहिरोमा परी बेपत्ता भएको ओलीले जानकारी दिएका छन् ।
ओलीले लेखेका छन् –“हिजो परेको अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५ मा भीषण पहिरो जाँदा ११ वटा घर पुरिएर १३ जना नागरिक बेपत्ता भएको खबरले अत्यन्तै मर्माहत बनाएको छ । घटनामा हालसम्म ४ जनाको शव फेला परेको दुःखद् जानकारी प्राप्त भएको छ।
यस दुस्खद् घटनामा पार्टीका पूर्व केन्द्रीय सदस्य नवीन रोका मगरकी आमा हस्तमा रोका मगर पनि पहिरोमा परी बेपत्ता हुनुभएको छ।
पहिरोमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। बेपत्ता हुनुभएका नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र र तदारुकताका साथ अघि बढाउन सरकार र स्थानीय प्रशासनसँग आग्रह गर्दछु। विपत्तिमा परेका परिवारको सहयोग र राहतमा पूर्ण सेवाभावका साथ तत्काल खटिन हाम्रा स्थानीय नेता तथा कार्यकर्ताहरूलाई निर्देशन गर्दछु। सरकारले पहिरो प्रभावित परिवारजनको उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र पुनर्वासको अविलम्ब व्यवस्था गरोस्।”





















