प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा बिहीबार चार जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिकाका माडी र लुङ्ग्री खोला किनारमा ती शव फेला परेका हुन्। फेला परेका शवको पहिचान खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार स्वर्गद्वारी–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२/१३ वर्षीय बालकको शव फेला परेको छ।
त्यस्तै, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
स्वर्गद्वारी–४ गोठीबाङमा पनि एक महिलाको शव फेला परेको छ। यस्तै, बिहान करिब ९ः३० बजे स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा अर्की महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
शव फेला परेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भिङ्ग्रीबाट प्रहरी नायब निरीक्षक हस्ते घर्तीमगरको कमान्डमा सात जना, प्रहरी चौकी लामाचौरबाट प्रहरी सहायक निरीक्षक शिवलाल पौडेलको कमान्डमा चार जना र इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी निरीक्षक महेश्वरी विष्टको कमान्डमा १० जनासहितको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। फेला परेका शवहरूको पहिचान तथा मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।




















