काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको जग बलियो हुनुअघि नै संरचना ठूलो बनेको स्वीकार गरेका छन्। उनले पार्टीलाई अब सुरक्षित राख्दै थप बलियो बनाउने जिम्मेवारी आफूहरूको काँधमा रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले रास्वपाको संगठनात्मक संरचना पार्टीको आधारभन्दा तीव्र गतिमा विस्तार भएको बताए।
‘जग बलियो नबनाइकन स्ट्रक्चर बलियो बनाएर हुँदैन। रास्वपाको बलियो स्ट्रक्चरभन्दा पहिले धेरै तल्लाको पार्टी बनेको हो, मैले आज यहाँ स्वीकार्नै पर्छ,’ उनले भने।
युवाको परिवर्तनप्रतिको चाहना र वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गरेर जनताले रास्वपालाई आशा र भरोसाका रूपमा अघि बढाएको उनले बताए। त्यसक्रममा पार्टीको जग निर्माण हुनुअघि नै आकार ठूलो बनेको महसुस आफूलाई हुने गरेको उनको भनाइ थियो।
‘हाम्रो जग बन्नुभन्दा पनि ठूलो र हाम्रो जगले धान्नुभन्दा पनि ठूलो आकारको पार्टी बन्यो कि भनेर म कहिलेकाहीँ सोच्न बाध्य हुन्छु,’ लामिछानेले भने, ‘तर बनिसकेपछि यसलाई सुरक्षित ढंगले कहाँबाट टेको दिनुपर्छ, कहाँ–कहाँबाट अड्याउनुपर्छ, त्यसका लागि हामी तयार हुनुपर्छ।’
युवा नेतृत्वका लागि परीक्षाको घडी
लामिछानेले वर्तमान समय युवा नेतृत्वका लागि परीक्षाको घडी भएको बताए। रास्वपाले परिणाम दिन नसके युवा नेतृत्वप्रति नै नकारात्मक भाष्य निर्माण हुने उनको चिन्ता थियो।
‘यदि हामीले परिणाम दिन सकेनौँ भने समाजमा एउटा घातक भाष्य निर्माण गरिनेछ– युवाहरू आलाकाँचा हुन्छन्, अनुभवबिना राजनीति चल्दैन, उमेर नै चाहिन्छ,’ उनले भने।
यस्तो भाष्यले आगामी पुस्ताका युवालाई नेतृत्वमा आउन निरुत्साहित गर्न सक्ने भन्दै उनले आफूहरूले इमानदार कर्ममार्फत युवाहरू सक्षम छन् भन्ने प्रमाणित गर्नुपर्ने बताए।
‘हामी इतिहासको यो भारी बोक्न चाहँदैनौँ। त्यसैले हामीले इमानदार भएर कर्मबाटै युवाहरू सक्षम छन् भन्ने प्रमाणित गर्नुपर्नेछ,’ उनले भने।
‘वैकल्पिक होइन, निर्विकल्प शक्ति बन्नुपर्छ’
लामिछानेले रास्वपा अब केवल ‘वैकल्पिक शक्ति’का रूपमा सीमित भएर नपुग्ने बताए। पार्टीलाई देशको ‘निर्विकल्प शक्ति’का रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ थियो।
‘हामी विकल्प खोज्न आएका होइनौँ, आफैँ विकल्प बन्न आएका हौँ,’ उनले भने, ‘यदि हामीले सही बाटो बिरायौँ भने जनताले फेरि अर्को विकल्प खोज्न थाल्नेछन्। त्यसैले हामीले आफूलाई निर्विकल्प प्रमाणित गर्नुपर्छ।’




















